माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ : प्रचण्ड

माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् । 

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए । 

प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए । ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो’ उनले भने, ‘हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।’

यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए । ‘वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको छ’ ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उनले दाबी गरे ।