संसद तीन दलको बन्धक हुन सक्दैन : रवि लामिछाने

संसद तीन दलको बन्धक हुन सक्दैन : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए । तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे ।

उनले तीनजना नेता बसेर सदन बस्नु अघि नै किन बार्गेनिङ नगरेको भन्दै प्रश्न पनि गरे । “तीन जना नेता मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिलाउनुपर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनौँ?, ” उनले भने, “हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?”

उनले केही नेता बसेर सदनलाई बन्धक बनाउन नपाइने पनि बताए ।