काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गरे ।
उनले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने कारणसमेत खोज्नुपर्ने बताए ।
“सुन तस्करी प्रकरणमा सरकारको एउटा हातले कमजोरी गर्यो एयरपोर्टमा, अर्को हातले फेरि पक्र्यो सिनामङ्गलचोकमा, यो बिर्सन हुन्न” उनले भने, “राजनीतिक प्रकृतिका घटना भए राजनीतिक मानिस राखौँ, सम्मानीत न्यायमूर्ति राखौँ, अनुसन्धान गरौँ र निष्कर्षमा पुगौँ । हामीलाई कोप्रति अविश्वास हो ? हामीले पालैपालो सरकारमा बसेर बनाएको संस्थाहरूप्रति हामी आफैँ अविश्वास गर्दैछौँ ।”
‘एउटा घटना आउँछ उभिदियो, प्रश्न गरिदियो घेरिदियो, अवरोध गरिदियो । के हरेक समस्याको हल सदन अवरुद्ध गरेर हुन्छ ?’ महामन्त्री शर्माको प्रश्न छ ।
०५७-०५८ सालदेखि अनेक पटक संसदमा अवरोध गरिएको उल्लेख गर्दै उनले हरेक समस्याको समाधान बहसबाट गर्नुपर्ने बताए ।
कुनै पनि बहानामा सदन अवरुद्ध नगर्न सांसदहरूले सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ । “आज संसद् खुलेको छ, एकअर्कामा बधाई साटासाट गर्नुपर्ने अवस्था छ”, उनले भने, “सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो ? यसबारे कसलाई प्रश्न गर्ने ? हरेक समस्याको हल संसद् बन्द गरेर हुँदैन ।”
प्रतिक्रिया