सुन प्रकरणकाे अनुसन्धानमा ३५ दिन सीआईबीलाई विश्वास गरौं : गृहमन्त्री श्रेष्ठ

सुन प्रकरणकाे अनुसन्धानमा ३५ दिन सीआईबीलाई विश्वास गरौं : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन प्रकरणकाे अनुसन्धानमा ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई विश्वास गर्न प्रतिनिधिसभामा आग्रह गरेका छन् ।

प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृमहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको बताए । ७९९९ किलो सुन भित्रिएको भनिएपनि १ तोला सुन समेत पत्ता लगाएको भन्दै उनले राज्यको संयन्त्रलाई जिम्मा दिनुपर्ने बताए ।

संगठित अपराधमा अनुसन्धानका लागि जम्मा ६० दिन समय हुने भन्दै उनले त्यसमध्ये २० दिन राजश्व अनुसन्धान विभागले लिएको बताए । बाँकी ४० दिनमध्ये ५ दिन सरकारी वकिललाई चाहिने भन्दै उनले भने, ‘सीआईबीले ३५ दिन काम गर्न पाउँछ । यो समयमा उसले नेक्सस पत्ता लगाउँछ र दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनसक्छ भन्ने हामीलाई विश्वास छ ।’

अपराधी लुकाउने दुर्नियत देखा पर्‍यो भने नयाँ शिराबाट बहस गर्नु उपयुक्त हुने भन्दै उनले हात जोडेर भने, ‘यसलाई डिरेल गर्न नगरौं, प्लिज ।’

श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी देखाएमा कोही नछुट्ने बताएका छन् । उनले भने–‘ललिता निवास प्रकरणमा अदालतको आदेशले थप अनुसन्धानका लागि आधार दिएको छ । सीआईबी अनुसन्धानको प्रक्रियामै छ । यसलाई सकारात्मक रुपमा लिउ । निष्पक्ष ढंगले अनुसन्धान प्रक्रियालाई पूरा गर्न प्रहरीलाई निर्देशन दिएका छौँ ।’

उनले भने,‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कुनै तथ्यले देखाउँछ भने छुट्नेवाला छैनन् । यो कुरा फेरि भन्न चाहन्छु, अनुसन्धानले नदेखाउँदा प्रश्नहरु उठ्न सक्छन्, तर अनुसन्धानमा तथ्य प्रमाणले दोषी देखापर्छ भने कोही छुट्दैन, कोही उम्किन पाउँदैन ।’

मन्त्री श्रेष्ठले कुनै हालतमा पनि दोषीलाई उम्किन नदिने बताएका छन् ।