निर्माण व्यवसायीको आन्दोलनमा ‘माननीयहरु’ गायब

निर्माण व्यवसायीको आन्दोलनमा ‘माननीयहरु’ गायब



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन दोस्रो चरणमा छ । भुक्तानी समस्या, मूल्य समायोजन र म्याद थपलगायतका ९ बुँदे मागसहित व्यवसायी दुई सातादेखि चरणबद्ध धर्ना कार्यक्रममा छन् ।

निर्माण व्यवसाय सञ्चालन गर्ने झन्डै डेढ दर्जन व्यवसायी संघीय र प्रदेश संसदमा प्रतिनिधित्व गर्छन् । महासंघले सञ्चालन गरेको धर्ना र विरोध कार्यक्रममा उनीहरुको उपस्थिति देखिँदैन । विरोध कार्यक्रममा रामेछापबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद पूर्णबहादुर तामाङ र प्रदेश सांसदद्वय इन्द्र बानियाँ र छत्र बमजनबाहेक अरु कसैको पनि उपस्थिति देखिएको छैन भने कसैले ऐक्यबद्धतासमेत जनाएको पाइएन ।

संघीय संसदका मोहन आचार्य, विक्रम पाण्डे, धनबहादुर बुढा, राजु थापा, दिक्पालकुमार शाही र अम्बरबहादुर रायमाझीको धर्ना र विरोध कार्यक्रममा उपस्थिति देखिएको छैन । यसैगरी प्रदेश सांसद बहादुर सिंह लामा, बुद्धिकुमार राजभण्डारी, दीपेन्द्र ठाकुर, वीरेन्द्रप्रसाद सिंह, नागेन्द्र साह, पूर्णबहादुर खत्री, देवेन्द्रबहादुर शाही र सुरेन्द्रबहादुर पालको उपस्थिति पनि अहिलेसम्म भेटिएको छैन ।

संसद डेढ दर्जन बढी निर्माण व्यवसायी भए पनि महासंघको मागका विषयमा सरकार पक्षसँग लविङ नभएपछि महासंघ आन्दोलनमा गएको हो । लगातार दुई सातादेखि धर्ना र विरोध कार्यक्रममा सरकार पक्षबाट कुनै किसिमको वार्ताको पहल भएको छैन ।