सांसद सुनील शर्मा पक्राउको जानकारी छैन : सभामुखको सचिवालय

सांसद सुनील शर्मा पक्राउको जानकारी छैन : सभामुखको सचिवालय



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको जनाए पनि सभामुख घिमिरेको सचिवालयले भने आफूलाई त्यसबारे कुनै जानकारी नआएको जनाएको हो ।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले अहिलेसम्म सभामुखसमक्ष जानकारी नआएको बताएका हुन् । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने वित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।  

प्रतिनिधिसभा नियमावली २०७९  को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ ।  सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ ।