रसुवाको साङ्जेन माथिल्लोबाट विद्युत उत्पादन सुरू

रसुवाको साङ्जेन माथिल्लोबाट विद्युत उत्पादन सुरू


ग्लोब नेपाल
54
Shares

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका- ५ मा निर्माण गरिएको १४.८ मेगावाटको सान्जेन माथिल्लो जलविद्युत आयोजनाको निर्माणको काम सम्पन्न भएलगत्तै साउन २० गतेदेखि उत्पादन सुरु गरी उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न गरेको छ ।

१४.८ मेगावाटको साङ्जेन माथिल्लो जलविद्युत आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार सन् २०१३ देखि निर्माण शुरू भएको माथिल्लो साङ्जेन जलविद्युत आयोजनाको निर्माणका सम्पूर्ण काम पुरा गरी ‘ड्राई र वेट टेष्ट’ गरि उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न भईसकेकाले आजबाट छ दिनसम्म अठचालिसै घन्टा विद्युत उत्पादन हुने बताए ।

तत् पश्चात नेपाल बिद्युत प्रधिकरणका पदाधिकारीहरुबाट अयोजनाको विद्युत प्रणाली परिक्षण गरेपछि औपचारिक रुपमा ब्यापरिक उत्पादनमा जाने उनको भनाई छ ।

विद्युत उत्पादनका लागि समुन्द्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलोचे बगरमा बाधबाँधी एक हजार तीन सय मिटर भूमिगत सुरूङ एवं एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेण्ड ११ दशमलव छ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत गृहमा पुर्‍याइएको छ ।

तीन वटा फ्रान्सिस टरवाइनमार्फत वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत उत्पादन हुने र आयोजनाबाट वार्षिक रू ४० करोड आम्दानी हुने जनाइएको छ ।

२०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका रहे पनि विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा उत्पादन ढिला भएको कम्पनीले जनाएको छ ।