प्रतिपक्ष र सत्तापक्ष दुवै उभिएपछि राष्ट्रियसभा बैठक स्थगित

प्रतिपक्ष र सत्तापक्ष दुवै उभिएपछि राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठकमा प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि उठेका थिए ।

दुवैपक्ष उभिएपछि राष्ट्रियसका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । अर्को बैठक साउन ३१ गते बस्नेछ ।

शुक्रबार बैठककाे सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजे तब एमालेका सांसदहरुले उठेर अवरोध गरे । तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए । तर सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध गरे ।

१० मिनेटभन्दा बढी समय प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु आ आफ्नो स्थानमा उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो । एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका हुन् ।