वासिंगटन डिसी । अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिपलगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्नेसहितका थप प्रतिबन्ध घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै प्रतिबन्धको घोषणा गरेका हुन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमिकन्डक्टर चिप, माइक्रो-इलेक्ट्रोनिक्स, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने वा नियन्त्रण गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
प्रतिबन्ध नलागेका कतिपय चिनियाँ प्रविधि क्षेत्रमा लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था पनि आदेशमा उल्लेख छ । चीनले आफ्नो सैन्य प्रविधिको अत्याधुनिकीकरण गरेर अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन गरेको प्रयत्नमा अमेरिकी पुँजी र विज्ञताले सघाउन सक्ने आकलन गर्दै उक्त कार्य रोक्न नयाँ आदेश जारी गर्नुपरेको अमेरिकी अधिकारीहरूको दाबी छ ।
यसअघि अमेरिकी संसद्लाई लेखेको पत्रमा बाइडेनले सैन्य, जासुसी, निगरानी तथा साइबरमा आधारित संवेदनशील प्रविधि र उत्पादनहरूमा चीनजस्ता देशहरूको उन्नतिले ल्याउन सक्ने जोखिम सामना गर्न राष्ट्रिय संकटकाल घोषणा गर्ने उल्लेख गरेका थिए । अहिले चीनसँगको व्यापार यथावत् राख्दै सैन्य प्रविधिलगायत अति संवेदनशील केही क्षेत्रमा मात्रै प्रतिबन्ध वा निगरानीको व्यवस्था गर्न खोजिएको विश्लेषण गरिएको छ । डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले अमेरिकी सरकारको पछिल्लो कदमको प्रशंसा गरेका छन् ।
विकसित सैन्य प्रविधिहरूमा समेत सेमिकन्डक्टर चिप प्रयोग हुने भएकाले लामो समयदेखि अमेरिकी लगानीले नै चिनियाँ सैन्य शक्तिको विकासमा सघाइरहेको र अहिलेको कदमले त्यसो हुन नदिने सुमरले उल्लेख गरेका छन् । चीनले भने कम्प्युटर चिप्स र अन्य संवेदनशील प्रविधिमा लगानी प्रतिबन्ध लगाउने अमेरिकी कदमप्रति चिन्ता प्रकट गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वासिङ्टनले ‘विश्व अर्थतन्त्र र व्यापार साझेदारी तथा सहयोगमा बाधा पुर्याएको’ र ‘विश्व अर्थतन्त्रको पुनरुत्थानमा अवरोध’ खडा गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया