एमाले अध्यक्ष ओली किन गए राष्ट्रपति पौडेल भेट्न ?

एमाले अध्यक्ष ओली किन गए राष्ट्रपति पौडेल भेट्न ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । शीतल निवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् । यसै सन्दर्भमा पौडेलले प्रधानमन्त्री प्रचण्डसँग २५ साउनमा भेट गरेका थिए । साउन २६ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शितल निवासमै छलफल गरेका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन माग राख्दै गरेको संसद अवरोधका कारण प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म र राष्ट्रिय सभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ। यसबीचमा संसदको गतिरोध हटाउन राष्ट्रपति पौडेलले पनि पहल गरिरहेका छन्। राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई भेटेर विश्वासको वातावरण सिर्जना गरी सदन चल्ने वातावरण बनाउन पनि आग्रह गर्दै आएका छन्।

आजको भेटमा राष्ट्रपति पौडेलले सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। ‘लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता र संसदप्रति नै नकरात्मक प्रभाव पर्ने भएकोले गतिरोध अन्त्य गर्न राष्ट्रपतिज्यूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई ध्यानाकर्षण गराउनुभएको छ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।