काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ३ वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका हुन् ।
कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीलाई अर्थमन्त्रीले शुक्रबार मन्त्रालयमै बोलाएका थिए ।
अर्थमन्त्री महतले उनीहरूसँग सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै स्पष्टीकरण सोधेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
तर, उनीहरूले निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको जवाफ अर्थमन्त्रीलाई दिएका छन् । स्रोतका अनुसार कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेका छन् ।
प्रतिक्रिया