काठमाडौँ । नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी फेरेको हो ।
आज अध्यक्ष केपी शर्मा ओलीले पार्टी अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गर्नुका साथै विभागमा सदस्यहरूको मनोनयन गरिएको जनाएका छन् ।
चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेका तर आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ। अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।
यस्तै, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको जनाइएको छ ।
प्रतिक्रिया