सर्वदलीय बैठकमा ओली अनुपस्थित

सर्वदलीय बैठकमा ओली अनुपस्थित



काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, रास्वपा सभापति रवि लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा  कार्यव्यस्तताका कारण एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् ।

आइतबारको सर्वदलीय बैठकपछि एउटा सहमतिको बिन्दुमा पुग्ने र संसद सुचारु हुने प्रधानमन्त्री दाहालको दाबी छ । यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए । तर त्यो छलफल विना निष्कर्ष टुंगिएको थियो ।