बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन

बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन


ग्लोब नेपाल
54
Shares

भक्तपुर । बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको छ ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै निजका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको हो ।

बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जिल्ला प्रहरी कार्यालय रामेछापबाट विसं २०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्दाका कारण सुधार गृहमा राखिएका बस्नेतको बिहान अचानक बेहोस भएपछि उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

मृतकको बाया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको तर बेहोसको कारण खुल्न नसकेको भन्दै घटनाबारे आवश्यक छानबिन गरिरहेको उनले बताए ।

सुधार गृहले आइतबार परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण स्पष्ट नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी वृत्त थिमिका प्रहरीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका छन् । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

घटनापछि आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रजिअ रिजालले घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेको जानकारी दिए ।