स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : देउवा

स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताएका छन् ।

स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उनी समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गरे । सभापति देउवाले भने, “उहाँ बिपी पछिका समाजवाद बुझेको नेता हो । समाजवादका बारेमा भन्न सक्ने र ब्याख्या गर्न सक्ने नेता हो । त्यसैले उहाँले लेखेका कुरा र विचार हाम्रो पार्टीले ‘कम्पाइल्ड’ गरेर राख्नुपर्छ ।”

स्व प्रदीप गिरि अध्ययनकर्ता मेहिनती र धेरै राजनीतिक ज्ञान भएको नेता भएको बताउँदै सभापति देउवाले उनी सधैँ प्रजातन्त्रको पक्षमा रहेको उल्लेख गरे । “प्रजातान्त्रिक समाजवाद बहुदलमा विश्वास गर्ने स्व नेता गिरिले सधैँ सहयोग गरे तर मन्त्रिपरिषद्मा बस्नुस् भन्दा मान्नु भएन”, सभापति देउवाले स्मरण गरे ।

कांग्रेसमा कदमजम (कर्णाली, दलित, मधेसी, जनजाती, महिला) पनि स्व नेता गिरिकै धारणा भएको भन्दै सभापति देउवाले उनी सच्चा मानेमा समावेशीताको पक्षधर नेता भएको बताए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले स्व गिरिले मधेस र पहिचानका आन्दोलनलाई अधिकारको आन्दोलन भनी सधैँ समर्थन गरेकाे स्मरण गरे । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्व गिरि लोकतन्त्रका लागि सङ्घर्षरत अभियन्ता भएको बताउँदै उनका योगदानलाई लिपीबद्ध गर्नुपर्ने सुझाव दिए ।

नेकपा (एकीकृत समाजवादी) घनश्याम भुसालले स्व गिरि माक्र्सवादका बारेमा कम्युनिष्टभन्दा बढी जानकार व्यक्तित्व भएको बताउँदै माक्र्सवादप्रति उनको लगाव पनि उत्तिकै रहेको उल्लेख गरे । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले स्व गिरिका चिन्तनका बारेमा छलफल गर्न विभिन्न दलका नेता एकै मञ्चमा उपस्थित हुनु उनीप्रति सम्मान भएको बताए ।

कार्यक्रममा कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, कांग्रेस केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्मा र कांग्रेस केन्द्रीय सदस्य एवं स्कूल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महर, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झा, स्व गिरिका धर्मपत्नी भारती सिलवाल गिरिगायतले स्व प्रदीप गिरिको राजनीतिक विचार र उनको योगदानका बारेमा चर्चा गरेका थिए ।