काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफूलाई चिन्तित बनाएको बताउँदै आफूले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको धारणा राखेका हुन् ।
राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै विपक्षी एमालेले शीतल निवासमा आयोजना गरेको बैठक बहिस्कार गरेको प्रति लक्षित गर्दै उनले भने,‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।’
एमाले बाहेकका दल सहभागी सर्वदलीय बैठक अहिले शीतल निवासमा जारी छ ।
राष्ट्रपतिको शुभेच्छा सकारात्मक : प्रधानमन्त्री प्रचण्ड
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफूसहित संसदमा रहेका प्रमुख दलहरू निरन्तर सक्रिय रहेको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् ।
संसद सुचारु गर्न दलहरू करिब करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेका छन् ।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौ । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ । राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गर्दछु ।’ विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी भएको छैन ।
प्रतिक्रिया