जनतासँग कांग्रेस अभियान स्थगित

जनतासँग कांग्रेस अभियान स्थगित



काठमाडौं । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले जनतसँग कांग्रेस अभियान स्थगित गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसद् चलिरहेकाे र बर्खामा कार्यक्रम गर्न पनि सहज नहुने भएकाेले केही समयका लागि भदौ १० देखि २४ सम्मको अभियान तत्कालका लागि स्थगित गरिएको जानकारी दिए । उक्त अभियान अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय गरिने भएकाे छ ।

पदाधिकारीबीच भएको छलफलमा २० देखि ३० साउनसम्म भएको पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा भएको थियो । अभियानले कांग्रेसलाई गतिशील बनाएको छलफलको निष्कर्ष रहेकाे छ । पार्टीको भ्रातृ संस्थालाई सङ्गठन विस्तारका लागि व्यापक परिचालन गर्नेबारे पनि पदाधिकारी बैठकले निर्णय गरेको छ । पदाधिकारीको छलफल राष्ट्रिय राजनीतिभन्दा पार्टीको आन्तरिक विषयमै केन्द्रित भएको हाे ।