रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : कांग्रेस नेता विश्वकर्मा

रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : कांग्रेस नेता विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिर गरे । समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाइ छ । नेता विश्वकर्माले कांग्रेस प्रचारमा नभई नागरिककाे सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए ।

उनले भने, ‘समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ । हाम्रो पार्टी समाजमै छ र केही पार्टी सामाजिक सञ्जालमा छन् । प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक नागरिकसँग काम गर्न जाने ?’

नेता विश्वकर्माले कांग्रेसलाई ‘घ्यु’ र रास्वपालाई ‘घ्यु’को वासना’ सँग तुलनासमेत गरे । उनले नागरिककाे बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस देशको सबैभन्दा ठूलो दल बन्न सफल भएको जिकिर गरे ।