काठमाडौँ । गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गत साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको पाँच बुँदे सम्झौता अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको गृह मन्त्रालयले जनाएको छ ।
१७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो ।
घटनाको विषयमा त्यस समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएअनुसार गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । सम्बन्धित निकायले यसबारे छानबिन गरेपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।
यता, तत्कालीन मधेसी जनअधिकार फोरमको अध्यक्ष तथा हाल जसपाका अध्यक्ष उपेन्द्र यादवले पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको सहमतिका सम्बन्धमा असन्तुष्टि जनाएका छन् । यादवले उच्चस्तरीय छानबिन आयोगको माग गरेका छन् । सत्ता गठबन्धनमै रहेका यादवको दबाबको कारण फाइल अगाडि बढ्नेमा भने अन्यौल रहेको गृह स्रोतले बताएको छ ।
प्रतिक्रिया