कोशीमा गठबन्धनलाई राप्रपाले सघाउने

कोशीमा गठबन्धनलाई राप्रपाले सघाउने

केन्द्रमा संसदीय समितिको सभापति



काठमाडौं । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच लेनदेनको राजनीति भएको छ ।

कोशी प्रदेशमा सङ्कटमा परेको सरकारलाई साथ दिन राप्रपा तयार भएपछि माओवादीले आफ्नो भागमा परेको संसदीय समितिको सभापति राप्रपालाई दिएको हो । माओवादी सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हाे । सहमतिअनुसार अब कोशीमा राप्रपाले सरकारलाई समर्थन गर्नेछ भने सभामुख र मन्त्री पाउनेछ ।

कोशीमा राप्रपाका छ जना सांसद छन् । एक सिट नपुगेर कोशीमा सत्ता गठबन्धन हैरान भएको छ । गठबन्धनले सभाअध्यक्षको समेत मतको दुरुपयोग गरेर कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएको दाबी गरेको थियो । तर सर्वोच्चले भने थापाले पाएको विश्वासको मत संविधानसम्मत नभएको आदेश दिइसकेको छ ।

राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएकाे छ । यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको थियो ।