काठमाडौं । भेपमा सुन लुकाएर तस्करी गरिएको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यो प्रकरणको अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनमा यो सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबु–छोराले पटकपटक सम्पर्क गरेको खुलेको उल्लेख गरिएको छ । तर, उनीहरूसँग बयानसमेत लिइएको छैन । त्यसैले जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि पनि अनुसन्धान गरी पुरक प्रतिवेदन ल्याउन निर्देशन दिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
महराका बाबु–छोराको यो प्रकरणमा संलग्नता रहेको भन्दै सार्वजनिक रुपमै प्रश्न उठिरहेको छ । यो विषयमा संसदमा मात्र नभएर सत्तारुढ पार्टी माओवादी केन्द्रमा पनि उठिरहेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा गलत भए नेताहरूमाथि पनि अनुसन्धान हुने बताएका थिए । तर, पनि हालसम्म महरा बाबु–छोरामाथि अनुसन्धान भएको छैन ।
महरा बाबु–छोराले भने आफूहरूको यो प्रकरणमा कुनै संलग्नता नरहेको दाबी गरिरहेका छन् । कृष्णबहादुर महराले त चिनियाँ नागरिकलाई फलफूल व्यावारीका रुपमा मात्र चिनेको बताएका छन् ।
प्रतिक्रिया