यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर आफैं जेल जाऊ : ओली

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर आफैं जेल जाऊ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा पनि छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् ।

‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे ।

‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ’, उनले भने, ‘हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं । बनाइदिएका छौँ ।’

उनले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताए ।

‘कानून बनाउँदा कसैले कमिसन खान्छ? कारोबार गर्दा खाला नि ? एमाले कमिसनका पछाडि कुद्ने पार्टी होइन । महान उद्देश्यका पछाडि हिँड्ने पार्टी हो । ओम्नी अरे मैले पत्रिका पढेर थाहा पाएको के हो ? ओम्नी ? मैले देखेको पनि छैन। सुनेको मात्रै हो । गर न छानबिन ओम्नी के हो ? भ्रष्टहरुको यत्रो हुइया । भ्रष्टहरुले हामीलाई थर्काउने उल्टै ।’