बाल्टिमोरमा मनाइयो गौरा पर्व

बाल्टिमोरमा मनाइयो गौरा पर्व


ग्लोब नेपाल
3.6k
Shares

बाल्टिमोर । नेपालको सुदूरपश्चिम क्षेत्रको मूख्य पर्व गौरा यहाँ पनि धुमधामका साथ मनाइएको छ। बाल्टिमोर आसपास रहेका सुदूरपश्चिमेली नेपालीहरुको संस्था सुदूरपश्चिम नेपाली समाज, मेरिल्याण्डले आइतवार यहाँ यसरी गौरा पर्व मनाएको हो।

स्थानीय एक सार्वजनिक पार्कमा सहभागी भएका नेपालीहरुले गौरा माताको पूजाआजा गर्दै देउडा खेल समेत खेलेका थिए। यसैगरी गौरा पर्वसंगै सुदूर पश्चिम नेपालको लोकप्रिय भुवा नाच, हुड्केली र धामी नाच समेत नाचेर सहभागीहरुले यो पर्व हर्षोल्लासपूर्वक मनाए।

भर्जिनियाबाट यो पर्वमा सहभागी देउडागायक शंकर सिंह विष्टले हुड्केली नृत्य प्रस्तुत गरेका थिए । देउडा गायिका चाँदनी मल्लले देउडा खेलाउनुका साथै तीजको देउडा गीत गाएर सहभागीहरुलाई नचाएकी थिइन् ।

गौरा पर्व सुदूरपश्चिमको क्षेत्रको मात्र नभएर सिंगो नेपालको एक महत्वपूर्ण पर्व बनिसकेको छ। राष्ट्रीयस्तरमा नै यो पर्व नेपालमा पनि मनाउन थालिएको छ। विदेशमा पनि सबै क्षेत्रका नेपालीहरु एकापसमा मिलेर यो पर्व मनाउने गर्दछन्।

‘विविधतामा एकता, हाम्रो विशेषता भनेको नै यही हो, भाषा, संस्कृति, रीतिरिवाज र फरक परम्परा भए पनि हामी सबै एकआपसमा मिलेर यसरी नेपाली चाडबाड र पर्व मनाउन पाउँदा निकै खुशी छौं´ गौरा व्यवस्थापन समितिका संयोजक भीम बिकेले भन्नुभयो ।

गौरा पर्वको सुरुवातमा सहभागीहरुले गौरामाताको विधिवत बाजागाजा र फुल अक्षतासहित पुजा गरी पार्कमा भित्र्याएका थिए। तत्पश्चात सहभागीहरुले गौरा पुजेर देउडा खेल्ने र अन्य नाच प्रस्तुत गरेका थिए। ‘संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो प्रमूख कर्तव्य हो । पढेर वा सुनेरभन्दा देखेर बढी बुझिने र संझनामा रहने भएकोले सम्पूर्ण विधि र प्रकृयासहित पुजापाठ गरिएको हो´ समाजका अध्यक्ष दमनविक्रम शाहले भन्नुभयो।

दौरा सुरुवाल र सारी चोलीसहितको अधिकांश मौलिक पहिरनमा सजिएका सहभागीहरुको बीचमा स्थानीय बाल्टिमोर शहरका आप्रवासी हेर्ने सरकारी प्रतिनिधि तथा आप्रवासी समुदायका नेतृत्वकर्ता पनि उपस्थित थिए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका तर्फबाट अनुमोदित साहित्यकार तीर्थ पाण्डेले तयार पार्नु भएको गौरा पर्व बारेको अनुसन्धानात्मक शोधपत्र पनि कार्यक्रमको बीचमा पढेर सुनाईएको थियो।

साँझसम्म नै सहभागीहरु यो पर्वमा रमाइरहेका थिए। समाजले यसरी बाल्टिमोरमा दोश्रोपटक गौरा पर्व मनाएको हो।