काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी बचाउने काम नभएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए । प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उनले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् । उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताएका हुन् ।
सरकार ढाल्ने कोसिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको प्रधानमन्त्री दाहालले बताए । कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने उनको भनाइ छ । ‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ । हामीले अझै गठबन्धन ५ वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म । त्यस्तो ठूलो केही भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ,’ उनले भने ।
अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको समेत प्रधानमन्त्री दाहालको भनाइ छ । उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरे । उनले माओवादीले मात्रै जातीय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे ।
अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक त कतै जातिय, कतै माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ कि ? भन्ने कसरत छन् । त्यसमा हामी संवेदनशील छौं । उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारका निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्छ, यो प्रमाणित गर्ने हाम्रा लागि ऐतिहासिक अवसर हो । हामीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्छौं,’ उनले भने ।
प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति सुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए। उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए । उनले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताए । उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको समेत बताए ।
प्रतिक्रिया