काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे ।
उनले भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो औँल्याए । उनले भ्रष्टाचार र तस्करीले आम जनतामा निराशा छाएको र यसले सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राखे । “देशको अवस्था सुधार गरी सुशासन प्रवद्र्धन हुनुपर्छ । प्राप्त उपलब्धि गुम्नसक्ने अवस्था रहेकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ”, प्रमुख सचेतक गिरीले भने ।
उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गरे । उनले पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव र शान्ति प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
उनले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको आरोप लगाए । ‘अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो’, उनले भने, ‘सत्ता पक्षका नेता देखिएपछि सीआईबीले अनुसन्धानसमेत गर्न सकिरहेको छैन ।’
एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गिरीले भ्रष्टाचारका नाइके, राजनीतिक दलको उपल्लो तहका नेतालाई छानबिनको दायरामा नै नल्याई उन्मुक्ति दिने गरिएको आरोप लगाए । उनले अगाडि भने, ‘तर भरियालाई जेलमा हाल्ने काम हुँदैछ ।’
उनले नेपाली कांग्रेसका सांसद सुनिल शर्माले न्याय र सुशासनको पक्षमा बोल्दा पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको आरोप लगाए । पटकपटक भएका तस्करीका कारण गणतन्त्रलगायत उपलब्धि गुम्ने अवस्थाको सिर्जना भएको सांसद गिरीले बताए ।
प्रतिक्रिया