सांसद न्यौपानेको प्रश्न : शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको ?

सांसद न्यौपानेको प्रश्न : शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको ?



काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले लोकतन्त्रमा शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको भन्ने प्रश्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोधेकी छिन् ।

मंगलबार संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उनले भनिन्, ‘यदि विधि र पद्धतिको हुन्छ भने राज्यका निकायहरूमा व्यक्ति परिवर्तनले खासै ठूलो अर्थ नराख्नु पर्ने हो । तर, हाम्रोमा मन्त्री या कर्मचारी परिवर्तन गरेर मात्रै सुशासन सम्भव छ भन्ने जस्तो भाष्य निर्माणको कोसिस किन हुँदैछ ?’

प्रधानमन्त्री प्रचण्डले ‘यदि हामीले निर्वाचन जितेको खण्डमा जातीय राज्य उपलब्ध गराउँनेछौँ’ भनेर दिएको सार्वजनिक अभिव्यक्ति संविधानको भावना अनुकूल नरहेको उनले बताइन् । ‘जातीय, भाषिक र धार्मिक द्वन्द्व न्यूनीकरण गर्ने भन्दा झन् बल्झाउने अभिव्यक्ति सुन्दा कतै प्रधानमन्त्रीज्यूलाई नै यो संविधान र शासन व्यवस्थाप्रति अनास्था वा अविश्वास बढेर त होइन ? यसबारे स्पष्ट पारिदिनु हुन्छ कि ?,’ उनले प्रश्न गरिन् ।