अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल



बुटवल । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने भनाइ राखे ।

समाजवादी मोर्चाले मङ्गलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “अहिलेको गणतन्त्र जनताको हो की बुर्जवाको हो अझै टुङ्गो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौँ ।”

उनले समाजवादी गणतन्त्रका लागि अब छिट्टै सडकमा जाने पनि बताए । उनले गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न, संविधानको रक्षा तथा गरिब उत्पीडित जनताका लागि अधिकार प्रत्याभूत गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताए ।

प्रधानमन्त्री दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको पनि आरोप लगाए । संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुनसक्छ भन्दै उनले प्रश्न गरे ।

नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै निराशा बाँडेर सामन्तवाद ब्युँताउन जाखिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए ।

धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै उनले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए । उनले अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्टाएर सामन्ती तत्त्वहरूसँग सम्झौता गर्न चाहिरहेको बताए ।

लुम्बिनीमा समाजवादी मोर्चा घोषणा

लुम्बिनी प्रदेशमा समाजवादी मोर्चा घोषणा गरिएको छ । मङ्गलबार बुटवलमा आयोजना गरिएको मोर्चाको सन्देश सभामा प्रदेशस्तरीय समाजवादी मोर्चामा चयन गरिएका समितिका सदस्यको नाम घोषणा गरिएको हो ।

समाजवादी मोर्चामा आबद्ध दलबाट तीन-तीन जना सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको हो । माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारु र सचिव कृष्ण अधिकारी रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीबाट पोलिटब्यूरो सदस्य वसन्त श्रेष्ठ तथा नारायण र सम्झना रहेका छन् ।