एमाले शीर्ष नेता सवार विमानमा समस्या

एमाले शीर्ष नेता सवार विमानमा समस्या


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । नेकपा एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौँ फिर्ता भएका छन् ।

सिरहामा आजका लागि तय गरिएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जानेक्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

‘हामी पार्टीको सिराहामा बस्ने सचिवालय बैठकमा सहभागी हुन जनकपुर हुँदै त्यसतर्फ जाँदै थियौं । जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराउनु भयो,’ एमाले उपाध्यक्ष नेम्वाङले भने, ‘त्यसपछि हामी काठमाडौं उत्रिएर अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछौं । विमान चढिसक्यौं ।’

बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरू काठमाडौँबाट त्यसतर्फ जाँदै थिए । एमाले सचिवालय बैठक अहिले साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने तय भएको छ ।

जहाजको ‘अटोपाइलट सिस्टम’ मा प्राविधिक समस्या देखिएपछि पाइलटले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय लिएको बुद्ध एयरले जानकारी दिएको छ । सामान्यतया काठमाडौं विमानस्थल आपतकालीन अवस्थामा सुरक्षित मानिने भएकाले पाइलटले काठमाडौं बाहिरका अरु आन्तरिक विमानस्थलमा अवतरण गराउने जोखिम लिंदैनन् ।