सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा प्रचण्डसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबीलाई भनेको बताएका छन् ।
सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र प्रचण्डलाई समेत नछाड्न भनेको बताए ।
‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले बाँकी जीवन उपलब्धिको रक्षाका लागि लगाउने उद्देश्य रहेको सुनाए । “अब मलाई केही लिनु छैन, दिनु छैन । जे छ, राष्ट्रको लागि र जनताका लागि, क्रान्तिको लागि र उपलब्धिको रक्षाका लागि बाँकी जीवन सम्पूर्ण रुपले लगाउनबाहेक केही उद्देश्य छैन,” उनले भने, “यो सरकार कति समय चल्छ, चल्दैन, मेरो टेन्सन त्यतापट्टि छैन । कतिपय मान्छेले सरकार जोगाउन यसो गर्यो भन्छन्, वाहियात कुरा भन्छन् ।”
उनले सरकारको सुरुआत गर्दा १५ दिनमै हट्न परे पनि ठिकै भनेर गरिएको सुनाउँदै आठ महिना पुगेको बताए । राम्रो जनताले देख्ने भन्दै कसले हटाउँदो रहेछ हेर्छु भन्नेमा रहेको पनि बताए ।
“मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठिकै छ, एक महिना भए पनि ठिकै छ भनेको थिएँ,” उनले भने, “राम्रो काम गर्छु । राम्रो काम गर्दा गर्दै कसले हटाउँदो रछ हेर्छु । नेपाली जनताले हेर्छन् ।”


प्रतिक्रिया