मुख्यमन्त्रीविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’

मुख्यमन्त्रीविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पछि ‘हेर्न नमिल्ने’ भएको छ ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए । आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ मा परेको हो ।

सभामुखले राजीनामा दिई मुख्यमन्त्रीलाई मतदान गरेको र उपसभामुख विदामा रहेको समयमा जेष्ठ सदस्यलाई प्रदेशसभाको सभाध्यक्ष बनाइएको थियो । तर विश्वासको मत लिने क्रममा बहुमत नपुगेपछि प्रदेशसभाको अध्यक्षता गर्ने जेष्ठ सदस्यले पनि मतदान गरेका थिए ।

उक्त मतदान संविधान विपरीत रहेको भन्दै पूर्व मुख्यमन्त्री समेत रहेका हिक्मतबहादुर थापाले उक्त सरकार गठन उत्प्रेषणको आदेशबाट बदर गरी ठूलो दलको हैसियतमा आफू नेतृत्वको सरकार गठनका लागि परमादेश दिन माग गरेका थिए ।