देउवालाई शेखरको प्रश्न : प्रधानमन्त्री हामीले लिन सक्ने हो कि होइन ?

देउवालाई शेखरको प्रश्न : प्रधानमन्त्री हामीले लिन सक्ने हो कि होइन ?

प्रधानमन्त्री र बालेनकाे अभिव्यक्ति अराजक



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा भएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनले मंगलबार गरेको कार्यक्रममा कोइरालाले अहिलेको सरकारमा कांग्रेस पनि सहभागी रहेको उल्लेख गर्दै उनले मन्त्री हुनेभन्दा पनि प्रधानमन्त्री नै सर्वेसर्वा हुने बताए ।

उनले कांग्रेसमाथि आक्रमण भइरहेको बताए । ‘हामी झन्डै ९० जना सांसद छौं । मन्त्रीहरू पनि छन् । तर सरकार हाम्रो हो कि होइन भन्ने महसुश भइरहेको छैन,’ कोइरालाले भने, ‘जतिसुकै भने पनि संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो ।’

‘सभापतिजी यहीँ हुनुहुन्छ, उहाँले त प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) सँग कुराकानी गरिरहनुभएकै हुन्छ । कुरा भइराखेकै होला,’ उनले भने, ‘जतिसकै भने पनि प्रधानमन्त्री नै सर्वेसर्वा हो । त्यो पनि एउटा कारण होला- प्रधानमन्त्रीले भनेका कुरा मन्त्रीहरूले काट्न नमिल्ने । त्यसकारण नेतृत्व हामीहरूले लिन सक्ने हो कि होइन ?’

सरकारको नेतृत्व कांग्रेसले लिन सक्ने हो भने पार्टीको वर्चश्व हुने र जनतालाई पनि आश्वस्त पार्न सकिने उनले बताए । ‘किनभने अहिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र कुटनीतिक कुनै पनिमा देश ठिक ठाउँबाट अघि बढेको छैन,’ उनले भने, ‘म केही दिनअघि विराटनगर थिएँ । देख्दा धार्मिक युद्ध हो कि जस्तो देखिन्थ्यो त्यसमा जातीय गन्ध देखिएको थियो ।’

नेता कोइरालाले देशमा जातीय द्वन्द्व हुन नहुने बताए । ‘म धरान पनि गएँ । एउटा समूहसँग भेटेँ, सम्झाएँ । तर उहाँहरू टसमस हुने अवस्था देखिन्न,’ उनले भने ।

कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री प्रचण्डले बोल्न नहुने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने समेत बताए ।

उनले भने, ‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौं भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरुलाई गम्भिर रुपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरुले पनि लिनुपर्छ ।’

कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको पछिल्लो अभिव्यक्ति अराजक भएको बताएका छन् । उनले भने, ‘देश अराजकतातिर बढ्न गएको भन्ने खवर २/३ दिन पहिले कहिले हो ? काठमाडौंका मेयरले जुन बोल्नुभयो । एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन ।’