कोशीको विवाद हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

कोशीको विवाद हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने



काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।

अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । मंगलबार दिनभर सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरे ।

थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय पाएनन र मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेश भएको हो ।

थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत् नै रहेको विपक्षीको तर्फबाट बहस गर्दै सरकारी वकिल र कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवाल लगायतले यस्तो दाबी गरेका छन् ।

पूर्ण इजलासमा भएको सुनुवाइका क्रममा यसअघि सोमबार निवेदकका तर्फबाट भएको बहसमा टीकाराम भट्टराई लगायतका कानुन व्यवसायीले समय सकिएको घण्टी बजिसकेपछि विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान भएको जिकिर लिएका थिए । त्यसपछि आज इजलासमा मतदानको दिनको भिडियो हेरिएको थियो ।