काठमाडौं । एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ ।
बुधबार दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली स्वदेश आइपुगेको हो । भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएका नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट सघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।
समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिम दुईवटै खेलमा पराजित भए पनि नेपाली टिमको प्रशंसा भएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको गरेको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।
प्रतिक्रिया