काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हाे । धारिलो हतियार खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ । उनी अहिले ट्रमा सेन्टरमा उपचाररत छन् ।
यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए ।
सांघातिक आक्रमण गर्ने सापकोटा राजावादी भएको खुलेको छ । आफूलाई अभियन्ताको रुपमा चिनाउने उनी राजावादी भएको प्रहरीले जनाएको छ । सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए ।
यादवले रिपोटर्स क्लबमा नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेका थिए । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको हाे ।
पछिल्लो समय विभिन्न पार्टीका शीर्ष नेतामाथि आफूलाई राजावादी बताउँदै हिड्ने समूह भौतिक रुपमै आक्रमण गर्न थालेका छन् । यसअघि १७ जेठमा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालमाथि समेत सार्वजनिक मञ्चमै अभद्र व्यवहार भएको थियो ।
आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिले खनालमाथि अभद्र व्यवहार गरेका थिए । त्यो बेला प्रहरीले सन्तोषसहित ९ जनालाई पक्राउ गरेको थियो । अनामनगरमा राखेको अन्तरक्रिया कार्यक्रममा खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेललगायतका नेता उपस्थित थिए ।
प्रतिक्रिया