एमालेभित्र बिस्फोट हुने झलनाथ खनालको दाबी

एमालेभित्र बिस्फोट हुने झलनाथ खनालको दाबी

जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन् । बुधवार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र बिस्फोट र बिद्रोह हुने दाबी गरेका हुन् ।

एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उनले बताए । जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ । एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए ।

उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ । र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्न सक्छ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ। देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । बिस्फोट हुनसक्छ ।’

उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए । उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताए । एमाले भयानक अलमलमा रहेको पनि उनको टिप्पणी थियो ।

उनले भने, ‘अहिले नेकपा(एमाले)को नेतृत्व हेर्नुस् त राप्रपासँग भएपनि अंगालो मार्ने। भन्न चाहीँ पुनःउत्थानवादी भन्ने । लोसपासँग पनि अंगालो मार्ने। भन्नेचाहीँ यो प्रो इण्डियन हो भन्ने । फेरि अंगालो हाल्ने । काँग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन् । त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ । त्यसो हुनाले उनीहरुको सिद्धान्त के हो ? को सँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ । यस्तो अलमल भएको पार्टीले क्रान्ति हाँक्दैन । त्यसकारणले हाम्रो पार्टीले यस्ता कुराहरुमा प्रष्ट भएर जानुपर्छ ।’

सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गरे । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उनले बताए । उनले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताए ।