काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवलाई ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।
बुधबार साँझ साढे ५ बजे एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जनाए ।
सहमहामन्त्री यादवलाई सवा २ बजे अस्पतालमा पुर्याइएको थियो। उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो। जसकारण गहिरो घाउ भई रक्तश्राव भएको डा. रिजालले बताए ।
विज्ञप्तिमा भनिएको छ,’टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ । उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जरी/ओर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ । तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आईसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी गराइन्छ ।’
बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा एक पुरूषले पछाडिबाट खुकुरी प्रहार गरेका थिए ।
नुवाकोट घर भई काठमाडौंको बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । सहमहामन्त्री यादवलाई कार्यकर्ताहरूले गाडीमा हालेर अस्पताल पुर्याएका थिए । प्रहरीले सापकोटालाई तत्कालै पक्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया