काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।
“कांग्रेस सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादव भाग्यले बाँच्नुभएको छ,” उनले भने, “सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।”
उनले प्रधानमन्त्री र गृहमन्त्री पनि बोलेको सुन्दा कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिएको बताए ।
“प्रधानमन्त्री गृहमन्त्री बोलेको सुन्छु । काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित छैन भने गृहमन्त्री र प्रधानमन्त्रीलाई छोएको छ कि छैन ?,” उनको प्रश्न थियो, “महेन्द्र यादवले कसैलाई मन नपर्ने कुरा बोले । कसैलाई मन नपराउने बोले भन्दैमा खुकुरी हानिहाल्ने ? यो संसद्भित्र सबैले मनन् गर्ने बेला आएको छ समाजमा असन्तुष्टि छ । हिंसालाई कुनै मानेबाट प्रश्रय दियौँ भने ठूलो मूल्य चुकाउनुपर्छ । यो घटनालाई सामान्यरुपमा लिनुहुँदैन । बैध वा जायज ठहराए नेपाली समाजले ठूलो मूल्य चुकाउनुपर्नेछ ।”
महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै थापाले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’
प्रतिक्रिया