उपचार नपाएर बालिकाको निधन भएकोमा सांसदको ध्यानाकर्षण

उपचार नपाएर बालिकाको निधन भएकोमा सांसदको ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो । बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको थियो ।

नेकपा (एमाले) का सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्र्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् । उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे ।

कांग्रेसका सांसद गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारको जवाफ मागेका छन् । उनले यस्तो अवस्था किन आयो र अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिकित्सकलाई मात्रै दोष दिन नमिल्ने बताइन् ।