काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहार गर्दैमा कांग्रेस नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक लेखकले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेर कांग्रेस सकिने कसैलाई लागेको भए त्यो भ्रम हुने बताए ।
‘खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन । कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले उभिएको पर्वत हो । खुकुरी प्रहार गरेर कांग्रेस सिध्याउँछु भन्नु र टाउकोले हिर्काएर पर्वत खसाल्छु भन्नु एउटै हो,’ उनले भने ।
राणा, राजा, पञ्चायतले टाउको जुधाउँदा पनि कांग्रेस अविचलित भएर उभिएको उनले बताए । कांग्रेस, एमाले, माओवादीजस्ता पुराना दलहरू खराब छन्, उनीहरूले निकास दिन सक्दैनन् भन्ने कृत्रिम भाष्य बनाइएको उनले बताए ।
श्याम सापकोटाको हातमा खुकुरी थमाइदिएको प्रवृत्ति हो भने त्यो कुन प्रवृत्ति हो भनेर उनले प्रश्न गरे । ‘श्यामबहादुर सापकोटाको हातमा खुकुरी देखिएको छ । यो देखिएको कुरा छ । श्यामबहादुरकै हातमा हो त्यो खुकुरी ? कि श्यामबहादुरको हातमा कसले पुर्याएको छ ? त्यो खुकुरीको लक्ष्य हाम्रो नेता महेन्द्र यादवमात्र हो कि अर्को पनि छ । त्यो प्रवृत्ति को हो ?,’ उनले प्रश्न गरे ।
प्रमुख सचेतक लेखकले आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ । प्रतिनिधि सभाको अर्को बैठकमा घटनाको सत्यतथ्यसहितको विवरण लिएर आउन आग्रह गरे ।
‘म गृहमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु – यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पुर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु’ प्रमुख सचेतक लेखकले भनेका छन् ।
पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरुको संलग्नता छ भने सत्य तथ्य छानबिन गरी कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया