कोशीमा हिक्मत कार्कीले आज मुख्यमन्त्रीको शपथ लिने

कोशीमा हिक्मत कार्कीले आज मुख्यमन्त्रीको शपथ लिने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको शपथ शुक्रबार साँझ ६ बजे हुने भएको छ । संविधानको धारा १६८(३) बमोजिम सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । एमाले संसदीय दलका नेता कार्की दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका हुन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी (उपसभामुख बाहेक) ३९ सदस्य एमालेका रहेका छन् । कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएपछि पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि असार १५ गते पदमुक्त भएका थिए ।

कार्कीपछि दुईपटक मुख्यमन्त्री भए पनि कांग्रेसका उद्धव थापा सर्वोच्चको आदेशले पदमुक्त भएका हुन् । अब कार्कीले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ । तर, एमाले र उसलाई सहयोग गरिरहेको राप्रपाको सिट मिलाउँदा पनि बहुमत पुग्ने अवस्था छैन ।