एसिया कप : बंगलादेशको फाइनल पुग्ने सम्भावना लगभग समाप्त

एसिया कप : बंगलादेशको फाइनल पुग्ने सम्भावना लगभग समाप्त


ग्लोब नेपाल
81
Shares

काठमाडौं । एसीसी एसिया कपको सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको छ । बंगलादेशले भने लगातार दुई खेलमा पराजय बेहोरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेशको फाइनल पुग्ने सम्भावना पनि लगभग समाप्त भएको छ ।

श्रीलंकाले लगातार १३ औँ एकदिवसीय खेल जितेको छ । श्रीलंका लगातार सर्वाधिक ओडीआई खेल जित्ने दोस्रो टोली बनेको छ । अस्ट्रेलियाले लगातार २१ ओडीआई जित्दै विश्व कीर्तिमान बनाएको छ । यस्तै श्रीलंकाले विपक्षी टोलीलाई लगातार १३ औँ पटक अलआउट गरेको छ । टोलीले आफ्नै विश्व रेकर्ड सुधारेको हो । श्रीलंकापछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एकदिवसीयमा १०–१० पटक विपक्षी टोलीलाई अलआउट गरिसकेका छन् ।

प्रेमदासा स्टेडियम कोलम्बोमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । श्रीलंकाका सदिरा समर–बिक्रमाले ९३ रनको उत्कृष्ट इनिङ्स खेले । यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडेका थिए । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन–तीन विकेट लिए ।

२ सय ५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८ ओभर १ बलमा अलआउट हुँदै २३६ रनमात्रै बनायो । बंगलादेशका तौहिद हृदयले सर्वाधिक ८२ रन बनाए । मुस्फिकुर रहिमले २९ र मेहदी हसनले २८ रन बनाए । बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्षणा र महिषा पथिरनाले तीन–तीन विकेट लिए ।

सुपर फोरमा अब श्रीलंकाले मंगलबार भारत र बिहीबार पाकिस्तानको सामना गर्ने छ । बंगलादेशले आफ्नो अन्तिम खेलमा शुक्रबार भारतसँग खेल्ने तालिका छ ।