प्रधानमन्त्रीसँग न्युयोर्क १२ जना मात्र जाने

प्रधानमन्त्रीसँग न्युयोर्क १२ जना मात्र जाने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको संख्या आधा छाँटेका छन् ।

यसअघि २४ सदस्यीय प्रतिनिधिमण्डल महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने तयारी गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको महासभामा जाने व्यक्तिहरुको नाम छाँट्न गरेको अनुरोध प्रधानमन्त्रीले स्वीकारेपछि संख्या आधा घटाइएको हो । अब नेपालबाट जाने टोली १२ जनाको मात्र हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।

अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको हाे । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जानेछन् ।

भ्रमणमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्रालयकी प्रवत्ता तथा यूएन महाशाखा प्रमुख सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल दिलिप कुमार पौडेल, न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् ।