कोशीको नाम विवाद सम्वादबाटै समाधान गर्नुपर्छ : प्रधानमन्त्री

कोशीको नाम विवाद सम्वादबाटै समाधान गर्नुपर्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरण विवादमा सम्वादबाटै समाधान खोज्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले सोमबार बिराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर सम्वाद गरेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र सम्वादबाट जनताको भावनाको कदर हुने गरी सामाधान खोजिनुपर्छ ।’

सम्वाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिर्वतन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताए ।

कति दिन सरकारमा बसिन्छ, मतलब नभएको, तर सुशासनको पक्षमा काम गर्ने भन्दै उनले भने, ‘सरकार एक्लैले मात्र लडेर जित्न सकिन्न, जनताका साथ अपरिहार्य छ ।’