काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने भएको छ ।
आज बसेको सचिवालय बैठकबाट भोलि दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै, अबका तीन दिनसम्म सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र आउँदो असोज २ गते श्रद्धाञ्जली सभा गर्ने निर्णय गरिएको छ ।
बैठकबाट नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको उनले बताए । बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको थियाे ।
अहिले नेम्वाङको पार्थिव शरीर नेपाली सेनाको टोलीले एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ ।
नेम्वाङको आज बिहान निधन भएको थियो । गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।



प्रतिक्रिया