काठमाडौं । संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइन् । उनी भावविह्वल देखिएकी थिइन् । एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेताका साथै विभिन्न दलका नेताहरु र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
अहिले अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन् ।
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।
आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको थियो र श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालयमा ल्याएको थियो ।
एमालेले पार्टी उपाध्यक्ष नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । एमालेले असोज २ गते शोक सभा गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया