काठमाडौं । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई साथ दिने संकेत गरेको छ । मध्यावधि टार्न र पार्टी एकताको सुरुवातका लागि एमाले लचक बन्दै सार्थक पहल गरे सहकार्यको ढोका खुल्न सक्ने संकेत नेता झलनाथ खनालले गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका अनुसार असोज २२ भित्रमा कार्कीले विश्वासको मत पाउने छन् । पछिल्लो पटक नेकपा एमाले र विद्रोही समाजवादीका नेताबीच बाक्लो हिमचिम छ । अध्यक्ष ओलीकै चाहनामा उपाध्यक्ष विष्णु पौडेलले एकीकृत समाजवादीका नेता खनालमार्फत् सहकार्यको प्रस्ताव गरिरहेका छन् ।
एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले आफूहरूलाई नेकपा एमाले छाड्न मन नहुँदा नहुँदै पनि हेपिएको र पेलिएको कारण छाड्न बाध्य भएको बताउँदै अहिले पनि नेकपा एमालेकै नाममा भाषण गरिरहेको सपना आफूले देख्ने गरेको पनि बताएका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएको दिन कार्कीले सबै दलसँग विश्वासका लागि पहल गर्ने बताए । तर उनलाई विश्वासको मत प्राप्त हुने कुनै आधार तय भइसकेको छैन ।
कोशीमा सरकार जोगाउन ४७ सिट आवश्यक पर्छ । एमालेको ४० र राप्रपाको ६ सिट हुँदा एक सिट पुग्दैन । एकीकृत समाजवादीको ४ सिट छ । याे परिवेशमा एमालेले गर्ने प्रयास निर्भर रहने एकीकृत समाजवादीको भनाइ छ ।
प्रतिक्रिया