काठमाडौं । अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षा प्रदान गर्ने तथा विपत्तिमा परेका मानिसको उद्धारमा योगदान पु-याउने मूल लक्ष्यसहित स्थापित अरुणिमा परोपकार प्रतिष्ठानको पहिलो वार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले उद्घाटन गरेको साधारण सभामा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यसहित समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । साधारण सभामा उपाध्यक्ष शम्भुप्रसाद बडालले स्वागत मन्तव्य राखेका थिए भने अर्जुन शाक्यले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।
संस्थामा हालसम्म रु. २८ लाख ७६ हजार ९ सय ४२ को मूल अक्षयकोष खडा भइसकेको साधारण सभामा जानकारी गराइयो । सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले चेतनाथ/सावित्रादेवी ढुंगाना र घनश्याम/कुन्तीदेवी दाहाल स्मृति अरुणिमा छात्रवृत्ति कोषका लागि रु. १० लाख १५ हजार ४ सय ४३ को प्रतिबद्धता प्राप्त भएको जानकारी दिए ।

यो कोषको रकम सिन्धुपाल्चोक स्थित मेलम्चीनगर क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उपलब्ध गराइने कोषका संस्थापक योगदानकर्ता (रु. ७ लाख ७७ हजार ७ सय ७७) समेत रहनु भएका ढुंगानाले बताए । प्रतिष्ठानले लक्ष्मी चालिसे स्मृति अरुणिमा छात्रवृत्ति (रु. १५ लाख),अग्निशिखा स्मृति अरुणिमा छात्रवृत्ति (रु.२ लाख), पशुपतिराज / मृगेन्द्रकुमारी मिश्र स्मृति अरुणिमा छात्रवृत्ति (रु.५ लाख २० हजार), सुवास अधिकारी स्मृति अरुणिमा छात्रवृत्ति (रु. २ लाख १० हजार), रामजीप्रसाद / कमलादेवी न्यौपाने स्मृति अरुणिमा छात्रवृत्ति (रु.१० लाख), अरुणिमा शैक्षिक प्रतिष्ठान छात्रवृत्ति .(रु.५ लाख १३ हजार), अरुणिमा एल्मुनाई एसोसिएसन छात्रवृत्ति (रु. ३ लाख ७३ हजार ६ सय ९२) लगायतका नाममा लक्षित वर्गलाई सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
मूल कोष र सहायक कोष गरी प्रतिष्ठानमा करीब रु ७४ लाख जम्मा भइसकेको र यसबाट आफूहरू सामाजिक काम गर्न थप उत्साहित रहेको प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगाना बताए ।
प्रतिक्रिया