काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् ।
निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई देश निकाला गरिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बताइन् ।
तर, भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ ।
भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडाका प्रधानमन्त्रीले संसद्मा जे भने हामी त्यसलाई अस्वीकार गर्छौँ । हामी क्यानडाली विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौँ। ‘क्यानडामा हुने कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद र राजनीतिक रूपमा प्रेरित हो। त्यसै गरी हाम्रा प्रधानमन्त्रीमाथि क्यानडाका प्रधानमन्त्रीले जे आरोप लगाएका छन्, त्यसलाई हामीले पूर्ण रूपमा अस्वीकार गरेका छौँ । हामी विधिको शासन सम्बन्धी लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध छौँ।’
केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत आएका थिए । यस भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि भएको आक्रमणको मुद्दा उठाएका थिए ।
जी–२० सम्मेलनपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो स्वदेश फर्कने बित्तिकै भारतसँगको सम्बन्धमा दरार आउन थाल्यो । ट्रुडो स्वदेश फर्केको केही समयपछि क्यानडाका वाणिज्य मन्त्री मेरी एनजीका प्रवक्ताले शुक्रबार क्यानडाले भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको बताएका थिए ।
यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । निज्जर क्यानडाका एक महत्त्वपूर्ण सिख नेता थिए र उनले सार्वजनिक रूपमा खालिस्तानलाई समर्थन गर्ने गरेका थिए। निज्जरका समर्थकहरुले उनको गतिविधिका कारण विगतमा पनि उनलाई धेरै धम्की आएको बताए ।
भारत सरकारले निज्जरलाई आतङ्कवादी र पृथकतावादी संगठनको प्रमुख भन्दै आएको छ । निज्जरका समर्थकहरूले यी आरोपहरूलाई अस्वीकार गर्छन्।
निज्जर हालैका महिनाहरूमा मृत्यु हुने तेस्रो सिख नेता थिए। गत जुन महिनामा बेलायतका अवतार सिंह खाँडा पनि बर्मिङ्घममा रहस्यमय अवस्थामा मृत फेला परेका थिए । उनी खालिस्तान लिबरेसन फोर्सका प्रमुख थिए।
परमजीत सिंह पञ्जवारको पनि लाहोरमा हत्या भएको थियो । भारत सरकारले परमजीतलाई पनि आतङ्कवादी भनेको थियो ।
क्यानडाको संसद्मा ट्रुडोले निज्जरको हत्याको मुद्दा दिल्लीमा उच्च तहमा उठेको बताए । क्यानडाले यो मुद्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि उठाएको बताएको छ ।
प्रतिक्रिया