संविधान संशोधन गर्ने बेला भा’छैन : अध्यक्ष ओली

संविधान संशोधन गर्ने बेला भा’छैन : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पुर्‍याएर मात्र गर्नुपर्ने बताएका हुन् ।

यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले भने, ‘अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र होइन, केही विषय राम्रै छलफल गरेर संशोधन गर्नुपर्छ ।’

अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राखे ।

‘आयातीत कुराबाट प्रेसर गर्ने प्रवृत्ति पनि देखिएको हुनाले, अनेक प्रकारका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने गम्भीर प्रश्न छ, त्यसैले यसमा कुनै हतारो गर्नुपर्ने छैन’ उनले भने ।

ओलीले संविधान जारी नगर्न संविधान सभाका अध्यक्ष नेम्वाङलाई दबाब आएको स्मरण गर्दै उनले दबाबकै बीच संविधान ल्याइएको बताए। उनले जीवन बलिदान र कठिनाई बाट अहिलेको संविधान निर्माण भएको र उपलब्धि गुम्न दिन नहुने बताए ।

ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा देशलाई पुर्‌याउन एमाले प्रतिबद्ध रहेको बताए । उनले देशको भूमी, राष्ट्रियता, देशको सार्वभौम सत्ता, राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्न र सुशासन ल्याउन एमाले प्रतिबद्ध रहेको दोहोर्‍याए ।

ओलीले भने,‘देशमा राष्ट्रिय एकता खलबलिन हामी दिन सक्दैनौं । अरुको स्वार्थमा लागेर हाम्रो देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भएपनि एमाले र जनतालाई स्वीकार्य छैन । यस्ता चिज रोक्न एमाले लागिपर्छ ।’