काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न उठेको छ । बैठकमा सहभागी नेताहरुले सरकारको कामबारे आफूहरुलाई चित्त नबुझेको कुरा बैठकमा राखेका हुन् ।
सरकारको कामबारे चित्त नबुझेको भन्दै पार्टीको प्रधानमन्त्री नभएपनि यो सरकार कांग्रेसको समर्थनमा बनेकोले सरकारको प्रभावकारीता कमजोर हुनाले बैठकमा कुरा उठेको केन्द्रीय सदस्य दिलन्द्र बडुले बताए ।
बैठकमा कोशी सरकारको विषयमा पनि न्यायसंगत नभएको निष्कर्ष निकालिएकाे छ । याे विषयले राजनीतिक, संवैधानिक र संस्थागन रुपमा अफ्ठ्यारो पारेकोले नयाँ ढंगले सोच्नुपर्ने बताइएकाे छ ।
बैठकले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ । साे कार्यतालिका अवरुद्ध हुन नदिने निर्णय पनि लिएको छ ।
‘कार्ययोजना र कार्यतालिका सहित पार्टी अघि बढेको छ । कार्यतालिकाको समीक्षा गर्नुपर्दछ,’ बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य बडुले भने, कार्यक्रमहरुको निरन्तरता हुनुपर्दछ । कार्यतालिकालाई अवरुद्ध हुन दिन हुँदैन ।’
बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थामा संस्थापन पक्षले एकलौटी गरेको र तल्ला तहको निर्वाचन हारेकाहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेकोसहितका विषयमा छलफल भएको छ ।
उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् ।
बैठकमा गुरुङले भने,‘दाम्लोले बाँधेर ल्याउने काम गर्नुहुँदैन । ल्याएपनि उनीहरू दाम्लो चुँडालेर भागिहाल्छन् । आउने साथीहरू आफैँ आउँछन् । हामीले कसैलाई तानेर ल्याउने कुरामा लाग्नुहुँदैन ।’ संस्थापन पक्षका केही नेताहरू आफ्नो सम्पर्कमा पनि रहेको गुरुङको भनाइ छ ।
समूहमा नयाँ मान्छे जोड्ने कुरासँग जिम्मेवारी दिने कुरामा लड्नुपर्ने उनले बताए । ‘महिला संघ तरुण दलमा हाम्रा मान्छेलाई रोक्ने काम भयो । हाम्रो भित्रैबाट पनि भयो । विभागमा पनि हामीलाई आफ्नो पोजिसन क्लियर पार्नुपर्छ ,’उनले भने ।
समूहको बैठकमा आउन शेखर कोइरालाले फोन गरेर महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत आमन्त्रण गरेका थिए । कोइरालाले फोन गर्दा दुवै नेताले सकारात्मक जवाफ दिएपनि प्रदीप चीन गएकाले बैठकमा आएनन् भने विश्वप्रका शर्माले आफू नआउने सन्देश पठाएका थिए ।
प्रतिक्रिया